समता लघुवित्तको प्रतिशेयर आम्दानी घट्यो

  Sampatti News

August 11, 2020

काठमाडौँ। समता लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) को वार्षिक प्रतिशेयर आम्दानी घटेको छ।

अघिल्लो आर्थिक वर्षमा वार्षिक ४२ दशमलव ५० रुपैयाँ रहेको प्रतिशेयर आम्दानी १५ दशमलव ६५ रुपैयाँले घटेर २६ दशमलव ८६ रुपैयाँमा संकुचित बनेको छ।

असार मसान्तसम्ममा लघुवित्तले ५ करोड १३ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा लघुवित्तले २ करोड ५७ लाख ९१ हजार रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी ६ करोड ६ लाख ७२ हजारबाट १९ करोड ११ लाख १६ हजार रुपैयाँमा वृद्धि गरेको लघुवित्तको जगेडा कोषको अकार पनि ८ करोड ४२ लाख ५६ हजारबाट बढेर १२ करोड ६६ लाख ५६ हजार रुपैयाँ सञ्चित भएको छ।

असार मसान्तसम्ममा लघुवित्तले ६० करोड ६३ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन तथा ८७ करोड ४८ लाख ६४ हजार रुपैयाँ सापटीबाट १ अर्ब ७१ करोड ५९ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट लघुवित्तले १२ करोड ३४ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवमा ७ करोड ७ लाख २९ हजार खुद ब्याज आम्दानी गरेको थियो।

लघुवित्तको सञ्चालन नाफा ३ करोड ५५ लाख, प्रतिशेयर नेटवर्थ १६४ दशमलव १५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४ दशमलव ५७ गुणा छ। लघुवित्तको निष्क्रिय कर्जा अनुपात १ दशमलव ९२ प्रतिशत छ। समीक्षा अवधिमा ० दशमलव ६३ प्रतिशतले बढेको हो।
अघिल्लो आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस वितरण र चुक्ता पूँजीके २०० प्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पूँजी बढाएको लघुवित्तको नाफा अपेक्षित बढ्न नसकेपछि इपिएस घटेको हो।

समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त एक आपसमा मर्जर प्रकृयामा रहेका छन्। घरेलु लघुवित्तको १०० कित्ता शेयर बराबर समताको ८० कित्ता शेयर आदान प्रदान हुने गरी यी दुई कम्पनीबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतामा भएको छ। एकीकृत संस्थाको चुक्ता पूँजी २४ करोड ३ लाख पुग्नेछ।

प्रकाशित मिति:August 11, 2020