जसपाबाट अध्यक्ष यादव र साह मन्त्री बन्दै, शपथग्रहण ११ बजे

  Sampatti News

March 10, 2024

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह मन्त्री बन्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यादवलाई उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र साहलाई वन तथा वातावरण मन्त्री नियुक्त गर्दै छन् । जसपाबाटै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै छन् ।

यादव र साहले बिहान ११ बजे शीतलनिवासमा मन्त्रीको शपथग्रहण गर्ने कार्यक्रम रहेको छ। यसअघि नै सत्ता गठबन्धनको एक घटकका रुपमा रहेको जसपाले प्रधानमन्त्री दाहाललाई कांग्रेससँग गठबन्धन तोड्दा देखि नै साथ दिएको थियो। तर, मन्त्रिपरिषद् विस्तारमा भने पार्टीभित्रको विवादका कारण नाम पठाउन सकिरहेको थिएन। 

आफूले चाहेको मन्त्रालय पाउने भएपछि अध्यक्ष यादव आफैँ सरकारमा सहभागी भएका छन्। यसअघि कांग्रेससँगको गठबन्धन सरकारमा पनि मन्त्री बन्न चाहेका यादव उपप्रधानमन्त्री बन्न नपाउने भएपछि सरकारमा गएका थिएनन्।

प्रकाशित मिति:March 10, 2024