घरभित्रै हत्या गरिएको अवस्थामा महिलाको शव फेला, चार जना पक्राउ

  Sampatti News

March 10, 2024

गोलबजार । सिराहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ । गोलबजार नगरपालिका‐६ का महेन्द्रकुमार साहकी श्रीमती ३२ वर्षीया अनिताकुमारी साहको  ढुङ्गा र धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । 

स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको साह दम्पतीमात्र घरमा रहेको बेला धारिलो हतियारले गर्दन काटिएको र सिलौटो टाउकोमाथि बजारिएको अवस्थामा घरभित्र सुत्ने  खाटनजिकै शव फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । धनुषाको लालगडबाट ल्याएको प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ । प्रहरीले उनको घर नजीकै रहेको गोठको नादीबाट खुकुरी बरामद गरेको छ ।

राति अबेर अनिताको श्रीमान महेन्द्र आत्तिएर बाहिर आएको थाहापाएपछि छिमेकीले घटनाबारे जानकारी पाएका थिए । साह आत्तिएर वेहोस भएपछि छिमेकीले नै उनलाई अस्पताल पुर्‍याए लगतै घटनाबारे प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरी चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षकले बताए ।

महेन्द्र साह यसअघि पनि आपराधीक घटनामा जेल परेको स्थानीयले बताएको छ । घटनामा श्रीमान शंकाको घेरमा रहेको बताइएको छ । उनीहरुको एक छोरी र दुई जना स–साना छोराहरु छन् ।

प्रकाशित मिति:March 10, 2024