कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह

Nepal Cover
२७ श्रावण २०७७, मंगलवार
image

काठमाडौँ। सोमबार दिउँसो १ः३० बजेकोे रेकर्डअनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ। यो भनेको चेतावनीको तह हो । पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ। कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको रेकर्डमा आठ मिटर ८० सेन्टिमिटर रहेको थियो ।

कर्णालीको ठूलीगाड, सेती र भेरी नदीमा पनि पानी बढिरहेकाले अझै पानीको सतह बढ्नसक्ने गुरुङले बताईन्। उनले पहाडतिर भारी वर्षा भएको र नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सतर्क रहन आग्रह गरेकी छन्। “नदी उर्लिएर आएको छ, यसैगरी बढेमा तटीय क्षेत्र डुबान हुन्छ”, गेजरिडर गुरुङले भनिन्, “मैले जोखिममा रहेका क्षेत्रमा सूचना गरिसकेकी छु, जोखिममा रहेका बस्ती सार्न आवश्यक छ।”

नदीमा पानीको बहाव बढेपछि नेपाल रेडक्रस सोसाइटी टीकापुर, भजनी नगरपालिका र टीकापुर नगरपालिकाले नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्। “हामीले सूचना प्रणालीमा रहेका सबैलाई सूचना गरिसकेका छौँ”, रेडक्रस सोसाइटी टीकापुरका सभापति जगदीश्वर पण्डितले भने, “उद्धार र क्षतिबाट जोगाउन पूर्वतयारी आवश्यक छ।”

बस्तीमा बाढी पसेपछि भजनी नगरपालिकाले सोमबार बिहानैबाट जोखिममा रहेका नागरिकलाई उच्च सडकमा सार्न शुरु गरिसकेको स्थानीय उद्धारकर्ता जयप्रसाद ढुङ्गानाले बताए। “सयौँ परिवार सडकमा त्रिपाल लगाएर बसिरहनुभएको छ”, ढुङ्गाना भने, “यसपटक बाढीले तहसनहस पारेको छ। नागरिकको बिचल्ली भएको छ ।” चिसापानीमा कर्णाली नदीको सतह नौ मिटर पुगे सर्तक, १० मिटर पुगे पूर्वतयारी र ११ मिटर पुगे तटीय क्षेत्रका लागि खतरा मानिन्छ।