राष्ट्रियसभाको अध्यक्षका लागि आज उम्मेदवारी दर्ता

Nepal Cover
२८ फाल्गुन २०८०, सोमबार
image

काठमाडौं। रिक्त रहेको राष्ट्रियसभा अध्यक्ष पदको लागि लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

निर्वाचनको तालिकाअनुसार आज बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र रहेको संसद् भवनको ल्होत्से हलमा उम्मेदवारी दर्ताको समय तोकिएको छ।

राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले उम्मेदवार तय गरेका छन्। अध्यक्षका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने भएको छ।

निर्वाचन कार्यतालिका अनुसार आज साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। भोलि मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम अध्यक्षको निर्वाचन मिति तोकिएपछि सोही नियमावलीको नियम ७ को उपनियम १ अनुसार आइतबार संसद् सचिवालयले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गरेको छ। अध्यक्ष पद यही फागुन २१ गतेदेखि रिक्त छ।