थुनुवा समात्न गएका प्रहरी जवानको भिरबाट लडेर मृत्यु

Nepal Cover
२८ फाल्गुन २०८०, सोमबार
image

धनगढी । दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत ३० वर्षीय प्रहरी जवान सुवान चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कुँवरलाई पक्राउ गर्न जाँदा लडेका चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका निम्ति उनलाई अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सुदूरपश्चिम प्रहरी कार्यालयका एसएसपी दिल्लीराज विष्टले जानकारी दिए ।

शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ। यसैबीच भागेका थुनुवा कुँवरलाई प्रहरीले भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको छ।