काठमाडाै । हालसम्म कृषि तथा पशुपालन,उत्पादनमुलक र शीप बिल्डिङ क्षेत्रतर्फ मात्रै नेपाली श्रमिक लैजादैँ आएका दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ ।
दक्षिण कोरियाले अबदेखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने भएकाे हाे । काेरिया सरकारले विगतकाे वर्षमा भन्दा पनि सन् २०२४ मा झन् बढी कामदर लैजाने व्यहोराको कोरिया सरकारबाट पत्रचारसमेत भइसकेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले जनाएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेका अनुसार भाषा परीक्षामा पास भएका र फर्किएर आएपछि कोरिया जान फेरि परीक्षा पास गरेकाहरुलाई थप अवसर दिने गरी कोरियाले थप ३ क्षेत्रमा पनि श्रमिक लैजाने जानकारी दिएको हो । ‘परीक्षा पास भएकाहरुलाई लैजान ढिलाइ हुँदा असन्तुष्टि बढेपछि कृषितर्फ भाषा परीक्षा पास भएकालाई वनतर्फ र अन्यलाई सेवा तथा रुट इन्डस्ट्रीतर्फ पनि लैजान सकिने भनेर कोरियाले औपचारिक रुपमा पत्रमार्फत नै जानकारी दिएको छ,’ उनले भने,‘यो वर्षभन्दा अर्को वर्ष १३.२ प्रतिशत बढी कोटा दिएर श्रमिक लैजाने कोरियाली सरकारले बताएको छ ।’