काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् ।
शुक्रबार बिहान बालुवाटारस्थित निवासमा पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई आयोगले तयार पारेको छानबिन प्रतिवेदन बुझाएका हुन्। आयोगले बिहीबार गृहमन्त्री समक्ष सो प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिए।
गृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।