सहकारीपीडितले कहिले न्याय पाउँछ: परियार

  Sampatti News

March 18, 2024

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सडकमा उभिएका सहकारीपीडितले कहिले न्याय पाउँछन् ?’ कहिले मिटरब्याजपीडित त कहिले सहकारीपीडित, कहिले कर्तव्यज्यान मुद्दा त कहिले बलात्कार मुद्दामा पीडितहरुले पटक-पटक आन्दोलित हुनुपर्ने अवस्थाप्रति राज्य संवदेनशील हुनुपर्ने उनले बताए ।

पीडितले न्याय नपाउँदा राजनीतिक रूपमा स्वतन्त्र जनप्रतिनिधि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगर प्रमुख हर्क साङपाङहरूले गिज्याउने अवस्था उनको भनाइ छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले सहकारीपीडितले न्याय नपाउने भए सरकारमा बस्ने नैतिकता कसैलाई नहुने बताए । “देश सुन तस्करको अखडाजस्तो बनेको छ । आमजनता वाक्क र दिक्क भएका छन्, जुन जोगी आए पनि कानै चिरिएको त हैन भन्ने अवस्था भएको छ,” उनले भने, “लाखौँलाख सहकारीपीडितलाई न्याय दिलाउन नसके सरकारमा बस्नुको कुनै औचित्य हुँदैन । बालेन र हर्कहरूले गिज्याएका छन्, पीडितले न्याय कहिले पाउने ? काठमाडौंको सकडमा आएर आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।”

निर्मला पन्त र आरती साहको हत्या, मिटरब्याजको समस्या, उखु किसान र सहकारीपीडितका विषय कांग्रेसले पटक–पटक उठाइरहेको भन्दै उनले उनीहरूले कहिले न्याय पाउने भनी प्रश्न गरे । सांसद परियारले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेको अवस्थामा सानो वा ठूलो कुनै विभेद नगरी सबैलाई कारबाही गरिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:March 18, 2024