पुल्चोक मन्त्री क्वार्टर अब न्यायाधीशनिवास

  Sampatti News

March 19, 2024

काठमाडाै‌ । मन्त्री क्वार्टर भैँसेपाटी स्थानान्तरण गरेर सरकारले पुल्चोकमा रहेको क्वार्टरलाई सर्वोच्च अदालतका न्यायाधीशहरूको निवास बनाउने तयारी थालेको छ । सर्वोच्च अदालतले सरकारसँग न्यायाधीशका लागि क्वार्टर माग गरेपछि मन्त्री क्वार्टरलाई न्यायाधीशहरूको निवास बनाउने प्रक्रिया अगाडि बढाएको हो ।सहरी विकास मन्त्रालयले आगामी असारसम्म भैँसेपाटीको नयाँ क्वार्टरमा मन्त्रीहरूलाई सार्ने तयारी गरिरहेको छ । त्यसलगत्तै पुल्चोकमा सर्वोच्चका न्यायाधीशहरूलाई राखिनेछ । न्यायाधीशहरूलाई एकै क्षेत्रमा राख्दा न्याय सम्पादनमा सहज तथा स्वतन्त्र वातावरण हुने, सुरक्षामा सहजता हुने र बाहिरी व्यक्तिसँग अनावश्यक सम्पर्क पनि नहुने सरकारको विश्वास छ ।

 गत १० फागुन ०७९ मा मन्त्रिपरिषद् बैठकले पुल्चोकबाट मन्त्रीहरू भैँसेपाटी क्वार्टर सरेपछि सो क्वार्टर सर्वोच्चका न्यायाधीश र मुख्य रजिस्ट्रारलाई दिने निर्णय गरेको थियो । हाल सर्वोच्चका न्यायाधीशले आवासको व्यवस्था आफैँ गरेका छन् ।संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका इन्जिनियर उमेशकुमार चौधरीका अनुसार मन्त्रीहरू भैँसेपाटीमा सरेपछि सरसफाइ गरेर र मर्मत–सम्भार गरी न्यायाधीशलाई यही क्वार्टर उपलब्ध गराइनेछ । हाल पुल्चोकस्थित मन्त्री क्वार्टर क्षेत्रमा १९ वटा ब्लक (घर) छन् । प्रधानन्यायाधीशसहित सर्वोच्चमा २१ जना न्यायाधीशको दरबन्दी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ। 

प्रकाशित मिति:March 19, 2024