बेत्रावतीदेखि टिमुरेसम्म चल्दै आएको सार्वजनिक यातायात सेवा बन्द

  Sampatti News

August 13, 2020

काठमाडौँ । कोरोना भाइरस नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ। बेत्रावतीदेखि टिमुरेसम्म चल्दै आएको आन्तरिक बससेवा बन्द गरिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन बढ्न थालेको र स्वास्थ्यका मापदण्डसमेत अपुग भएको गुनासा आएका कारण बन्द गरिएको केन्द्रले जनाएको छ।

उक्त केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले छोटो समयका लागि बससेवा बन्द गरिएको र जोखिमको अवस्था, बस चालकले अपनाएका स्वास्थ्य मापदण्ड पूरा भए—नभएको केही समयपछाडि विश्लेषणका आधारमा खोल्न सकिने बताए। यस्तै कोरोनाको सङ्क्रमण बढ्दै गएकाले कार्यालय प्रमुख तथा कर्मचारीले जिल्ला नछोड्ने, अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्यको मापदण्ड अपनाई तोकिएका कर्मचारीको मोबाइलमा समन्वय गरी सेवा लिनुपर्ने बताइएको छ।

अर्को आदेश नभएसम्म मठमन्दिर, गुम्बा, जात्रा बसै बन्द गर्ने, स्वास्थ्यको मापदण्ड सबैले पूर्ण रूपमा पालना गर्ने(गराउने, दीर्घरोगी, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवतीलाई घरबाट बाहिर ननिकाल्ने, रसुवा प्रवेश गर्ने बेत्रावती सिमानामा आवतजावतको रोकथाममा कडाइ गर्नेसमेत निर्णय भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

प्रकाशित मिति:August 13, 2020