पाँचथरमा चट्याङले लागेर एक जना हवल्दारको मृत्यु

  Sampatti News

March 20, 2024

पाँचथर । चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो । 

गएराति प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिए। चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए।

“प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्‍याएका थियौँ । चिकित्सकले करिब राति १२ बजे माझीलाई मृत घोषित गरेका थिए । प्राप्त जानकारी अनुसार प्रहरी सहायक हवल्दार माझी साँझको गस्ती गरिरहेका बेला हावाहुरीसहित पानी परेपछि कार्यालय फर्किएर चौकीको ढोकामा उभिएको अवस्थामा चट्याङको झड्का लागेको थियो।

मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका ३५ वर्षीय माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:March 20, 2024