सिन्धुपाल्चोक । अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ। लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष श्रीजना तामाङले जानकारी दिए।
पहिरोले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको, उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीय आशबहादुर तामाङले जानकारी दिए। पुरिएका ५ घरका सबै सम्पर्कविहीन रहेको कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले बताए।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिए। जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँदै गरेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए।