तीनै तहका सरकारले आ-आफ्नो जिम्मेवारीअनुसार जनतालाई अनुभूत हुने गरी काम गर्नु छ: मन्त्री जोशी

  Sampatti News

March 22, 2024

काभ्रेपलाञ्चोक। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले तीनै तहका सरकारले आ-आफ्नो जिम्मेवारीअनुसार जनतालाई अनुभूत हुने गरी सेवा प्रवाह र विकास व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

उनले सेवा प्रवाह र विकास व्यवस्थापनमा जनप्रतिनिधि र कर्मचारीहरु समेतले सुशासनका पक्षमा प्रतिवद्ध हुनुपर्ने आवश्यकता रहेको बताए । मन्त्रालयले बिहीबार धुलिखेलमा गरेको बहुक्षेत्रीय पोषण योजना तेस्रो, पोषणमैत्री स्थानीय शासन र स्थानीय तहको अनुगमन तथा प्रतिवेदन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्री जोशीले संविधानले तीनै तहका अधिकारको स्पष्ट बाँडफाट गरेको उल्लेख गर्दै सबैले आफ्नो दायित्व पूरा गर्नेमा ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

मन्त्री जोशीले पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि सर्वपक्षीय प्रतिवद्धता साथै कृषि, पशुपन्छी लगायतका क्षेत्रको प्रवर्द्धन र सम्वर्द्धन हुनुपर्ने बताए ।

कार्यक्रममा संघीय मामिला तथा प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले संघ, प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयबाट मात्र कार्यक्रमहरूको प्रभावकारिता बढ्ने बताए । मन्त्रालयका सहसचिव सुमन दाहालले बहुक्षेत्रीय पोषण अभियानमूलक कार्यक्रम भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप सूचक हासिल गर्न जीवनपद्धति तथा प्रणालीगत अवधारणा अनुसार काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति:March 22, 2024