राजेन्द्र महतो लोसपाबाट स्वतः निष्काशित : ठाकुर

Nepal Cover
९ चैत्र २०८०, शुक्रबार
image

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी,नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतोले पार्टी परित्याग गरेको भन्दै पार्टीबाट स्वतः निष्कासित  भएको बताएका छन् । अध्यक्ष महन्थ ठाकुरले पार्टी बैठक सकिएसँगै आयोजित पत्रकार भेटमा महतो पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी स्वतः निष्कासित हुन पुगेको जानकारी गराएका हुन् ।

विगतमा सद्भावना पार्टीबाट राजनीति गरेका महतो, तमलोपा हुँदै राजपामा आइपुगेका ठाकुरसहित पार्टी एकता हुँदै ०७६ सालमा जसपा बनेको थियो । त्यसमा पनि विभाजन आएसँगै ठाकुर, महतो लगायतहरु लोसपामा आइपुगेका थिए ।

उनले पार्टीमा चित्त नबुझेर महतो निस्किएको भन्दै महतोले पार्टी छोड्दा आफूहरुलाई हित नै हुने बताए। उनले महतोले मधेशको मात्रै कुरा नगरेको भन्दै यसले उनैलाई प्रभाव पार्ने बताए। सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ठाकुरले प्रदेश सरकारलाई संघको दृष्टिले हेर्नु नहुने भन्दै मधेश प्रदेश सरकारमा पार्टी सहभागी भएको बताए।

अब महतोले नयाँ राजनीतिक अभियानमार्फत अघि बढ्ने घोषणा गरेका छन् । उनले यसअघि कुरा गर्दै लोसपा लोसे शक्ति भएकाले यसले हिमाल पहाड तराई जोड्न नसक्ने बताएका थिए । महतोले आफ्नो अभियानलाई राजनीतिक पार्टीमा रूपान्तरण गर्ने बताइएको छ ।