मलेसियाको अर्थतन्त्र १७ प्रतिशतले संकुचित

  Sampatti News

August 14, 2020

काठमाडौँ । नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको मलेसियाको अर्थतन्त्र अन्तिम त्रैमासिक अवधिमा झण्डै १७ प्रतिशतले संकुचित भएको छ। सन् २००८ को विश्वव्यापी आर्थिक संकटयता पहिलो पटक मलेसियाको अर्थतन्त्रमा यतिठूलो संकुचन आएको यो पहिलो पटक हो।

मलेसियाको केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा अप्रिल–जुन महिनाको अवधिमा खुद वार्षिक वृद्धिदरमा १६ दशमलव ५ प्रतिशतले कमी आएको उल्लेख छ। वर्षको पहिलो त्रैमासिक अवधिमा मलेसियाको अर्थतन्त्रको संकुचन २ प्रतिशत थियो।

कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले गरिएको लकडाउनका कारण व्यापार व्यवसाय बन्द, यात्रा प्रतिबन्ध तथा अन्य व्यवस्थाले अर्थतन्त्रमा गहिरो असर परेको बैंकको भनाई छ।

तर बैंकले मे महिनामा महामारीसँग सम्बन्धित कतिपय प्रतिबन्धहरु हटाइएपछि निर्यात, औद्योगिक उत्पादन र उपभोग्य खर्चमा उल्लेख्य सुधार आएको जनाएको छ।

राष्ट्रबैंकले वर्षभर समग्र अर्थतन्त्र ३ दशमलव ५ देखि ५ दशमलव ५ प्रतिशत ऋणात्मक हुने प्रक्षेपण गरेको छ। मलेसियाको अर्थतन्त्र आगामी सन् २०२१ मा ५ दशमलव ५ देखि ८ प्रतिशतका दरले वृद्धि हुने बैंकको भनाई छ।

प्रकाशित मिति:August 14, 2020