डिस्चार्ज भएको केही समयपछि १ युवाको मृत्यु

  Sampatti News

August 16, 2020

वीरगञ्ज। कोरोना संक्रमणमुक्त भई कोभिड अस्पतालबाट डिस्चार्ज भएको केही घण्टापछि १ जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका—१३ शिवनगरका ५६ वर्षीय पुरुषको डिस्चार्ज भएको केही समयपछि मृत्यु भएको हो।

नारायणी कोभिड विशेष अस्थायी अस्पताल वीरगञ्ज हेल्थकेयरबाट शनिबार राति उनी कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका थिए।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

नारायणी अस्तालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा साउन १९ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि वीरगञ्ज हेल्थकेयरमा भर्ना गरिएको थियो।

झाडापखाला लागेको र अक्सिजनको मात्रा पनि कम भएकोले डिस्चार्जको बेलामा नै चिकित्सकले उनलाई थप उपचारका लागि अन्य अस्पताल भर्ना गर्न सुझाव दिएका थिए।

त्यसपछि उनका आफन्तले उनलाई नारायणी वयोधा अस्पतालको आईसीयूमा भर्ना गरेका थिए । उपचारकै क्रममा शनिबार राति नै साढे ११ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

मृतकको शव आफन्तले ल्याएर हिन्दु धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिसकेका छन्। मृतकका जेठो छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनी अहिले होटल रानीपोखरी होटल आइसोलेसनमा उपचाररत छन् ।

कान्छो छोराले बुवालाई दागबत्ति दिएका थिए। मृतकका श्रीमती र अर्को छोराको पनि पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरी प्रयोगशालामा पठाइएको छ।

प्रकाशित मिति:August 16, 2020