नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिन प्रधानमन्त्रीको निर्देशन

  Sampatti News

April 1, 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।

आइतबार दिउँसो सिंहदरबारमा आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्।


बैठकमा प्रधानमन्त्रीले भने, ‘राजस्व चुहावट र अवैध व्यापारिक कारोबारमा हुने सेटिङ भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस्। झुटा तथा नक्कली बिल बीजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ। त्यसको गम्भीर अनुगमन गर्नुस् र एक्सन लिनुस्।’

प्रधानमन्त्रीले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको बताउँदै सोहीअनुरूप क्रियाशील हुन निर्देशन दिए। उनले आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिने-दिने प्रणाली प्रभावकारी बनाउन भनेका छन्।

प्रकाशित मिति:April 1, 2024