एकदर्जन सचिब हेरफेर ,अर्थ डेग चलेन

Nepal Cover
१९ चैत्र २०८०, सोमबार
image

काठमाडौँ । सरकारले ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय तथा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रदेश प्रमुख सचिवहरूको सरुवा गरेको हो ।

प्राप्त विवरण अनुसार वित्त आयोगका सचिव कृष्ण बहादुर राउत उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय(उद्योग)मा गएका छन् भने त्यहाँका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालय पुर्‍याइएको छ । यसैगरी उपराष्ट्रपतिको कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा सरुवा भएका छन् । उनले सचिव भएपछि पहिलो पटक मन्त्रालय पाएका छन् । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुर्‍याएका छ भने त्यहाँका सचिव गोपाल प्रसाद सिग्देल शर्माको ठाउँमा आएका छन् । प्राप्त विवरण अनुसार जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडी सिँचाइमा लगिएको छ । त्यहाँ कार्यरत सुशील चन्द्र तिवारीलाई ऊर्जा आयोगमा पठाइएको छ ।

यसैगरी मधेस प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय(वाणिज्य) सचिवमा सरुवा भई आएका छन् भने त्यहाँका सचिव नारायण प्रसाद शर्मा दुवाडी निर्वाचन आयोगमा सरुवा भएका छन् । यस्तै बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा भई आएका छन् ।

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरू अझैसम्म प्रष्ट हुन नसकेको स्रोतले जनाएको छ । पारदर्शी रूपमा सरुवा गर्न नसकेकै कारण सरुवा भने अझै गुपचुप राखिएको छ । यसैबिच कतिपयको फेरबदलसमेत हुन सक्नेसमेत बुझिएको छ ।

पछिल्लो समय सचिवको सरुवा निकै पेचिलो बन्दै आएको थियो । अघिल्लै मन्त्रिपरिषद् बैठकमा सचिव सरुवा हुनेबारे छलफल भए पनि शक्तिकेन्द्र जुधेपछि निर्णय गर्न सकिएको थिएन । अर्थ, राजश्व, सामान्यलगायत अन्य महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको पनि सरुवा हुने चर्चा रहे पनि पछिल्लो पटक उनीहरु डेग नचल्ने बुझिएको छ।मधेस प्रदेशमा रहदा सुराकी को भत्ता खाएका अर्थ सचिब कृष्ण हरि पुस्करले बिदेशी दाताको सरण पर्दै गुहार मागे सगै उनीहरुको बलमा जतिसुकै उथलपुथल भएपनि पुस्करको सरुवा भने रोकिने भएको छ।

सचिव मात्रै होइन, सहसचिव, उपसचिव तथा अधिकृतसम्मको सरुवा पछिल्लो समय रुमल्लिँदै आइएको छ । अभिभावक विहीन जस्तै बन्दै आएको निजामती क्षेत्र दिनप्रतिदिन अद्योगतितर्फ उन्मुख भई रहँदा पनि सम्बद्ध पक्षहरू व्यक्तिगत लाभहानीमै रमाइरहेका देख्दा निष्ठापुर्वक बाचेका प्रशासकहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।
शक्ति केन्द्रमा लम्पसार पर्ने शैलीबाट अगाडि बढेको नेपाल को सचिब सरुवा प्रणाली हाबी हुँदा निष्ठापुर्वक काम गर्छु भन्ने सचिबको आदर्श पानीको फोका जस्तो बनाइएको छ।