महालेखापरीक्षकमा रायको सिफारिसप्रति ट्रान्सपरेन्सी इन्टरनेशनले जनाए आपत्ति

  Sampatti News

April 4, 2024

काठमाडौ । संवैधानिक परिषदले तोयम रायलाई महालेखापरीक्षकमा सिफारिस गरेकोमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले आपत्ति जनाएको छ ।

कानून बमोजिम लेखा राख्ने, राख्न लगाउने र लेखापरीक्षण गराउनेलगायतका जिम्मेवारी लेखा उत्तरदायी अधिकृतको रहने र सोही प्रकृतिको पदमा रहेका रायलाई महालेखापरीक्षकमा सिफारिस गरेकोमा टिआइ नेपालले आपत्ति जनाएको हो ।

राज्यका कुनै पनि उच्च पदमा नियुक्ति गरिँदा स्वार्थको द्वन्द्व नहुने र सुशासनमा खलल नपर्ने कुरा सुनिश्चित गरिनुपर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालको आधिकारिक धारणा छ । 

“संवैधानिक परिषदद्वारा यही २०८० वैशाख २१ गतेसम्म अर्थसचिव पदमा रही तत्पश्चात् उपराष्ट्रपतिको कार्यालयमा सचिव र त्यसपछि राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रूपमा कार्यरत तोयम रायलाई महालेखापरीक्षकमा सिफारिस गरिएकामा टिआइ–नेपालको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ, “महालेखापरीक्षक नेपालको संविधानको धारा २४१ मा भएको व्यवस्थाअनुरुप नेपाल सरकारका सबै निकायको लेखापरीक्षण गर्ने सर्वोच्च पद हो, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले नेपाल सरकारको कुनै मन्त्रालय वा केन्द्रीय निकायको सचिव पदमा कार्यरत व्यक्तिलाई लेखाउत्तरदायी अधिकृत मानेको छ ।”

प्रकाशित मिति:April 4, 2024