बझाङ । जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ५ मिडीमा पहिरोले घर बगाउँदा २ जना बेपत्ता रहेका छन् भने ४ जना घाइते भएका छन् ।
मिडीमा मंगलबार राति १ः१५ बजेतिर पहिरो गएको जिल्ला प्रहरीका कार्यालय बझाङले जनाएको छ। घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको हो । नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका ४ जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन्।
प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतको बेङ्लोरमा छन । पहिरोमा परेर प्रतापकी श्रीमती ४० वर्षीया पिपला ताम्राकार, १८ वर्षीया छोरी सुनिता र १२ वर्षीया छोरी टिन्टी ताम्राकार र १६ वर्षीय छोरा अनिल ताम्राकार घाइते भयका छन । घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । १४ वर्षीय छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ वर्षीय सुदीप ओखेडा बेपत्ता भयका छन् । सुदीप केही दिनअघि आफ्नो फुपूको घरमा आएका थिए ।
दुवै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले बताएका छन। पहिरोका कारण १५ घर उच्च जोखिममा रहेको स्थानीय सुरेश कुँवरले जानकारी दिएका छन। एक हप्ताअघि मात्रै यहाँका स्थानीय बासिन्दाहरूले मुचुल्कासहित आफूहरु जोखिममा रहेको भन्दै वडा कार्यालय र नगरपालिकालाई जानकारीसमेत गराएका थिए। गाँउमाथि खोल्लेख(लुएटी सडकखण्डबाट पहिरो गएको स्थानीयले जनाएका छन् ।