आज घोडेजात्रा मनाइँदै,काठमाडौँ उपत्यकामा बिदा

  Sampatti News

April 8, 2024

हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ।

घोडेजात्राको अवसरमा आज सरकारले काठमाडौँ उपत्यकामा बिदा दिएको छ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो। पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय जनतामा रह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ। यसो गर्दा गुरुमापाको आत्माले स्थानीयवासीलाई दुःख दिँदैन।

टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको धार्मिक विश्वास छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाका तर्फबाट आज सैनिक मञ्च टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतका विभिन्न प्रदर्शनी गरिंदैछ ।

समारोहमा उपराष्ट्रपतिलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ । समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ । परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न नेपाली सेनाले घोडाका रोमाञ्चक कला प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति:April 8, 2024