बिस्केटजात्रा आजदेखि सुरु

  Sampatti News

April 9, 2024

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजदेखि सुरु भएको छ । 

नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गे जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ ।

लिच्छवीकालदेखि सुरु भएको बिस्केट जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गर्ने परम्परा छ ।

तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ ।

चैत २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्ग्रा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्राएपछि बिस्केट जात्रा सुरु हुने परम्परा छ ।

प्रकाशित मिति:April 9, 2024