रमदानको अन्तिम दिन मुस्लिम बस्तीमा ‘ईद’को चहलपहल

  Sampatti News

April 10, 2024

महोत्तरी । हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ ।

रमदानभरि रोजा (व्रत, उपवास) बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद–उल–फित्र (बोलीचालीमा ईद)को तयारीमा लागेपछि आज मुस्लिम बाहुल्य बस्तीमा रौनक बढेको हो । हिजरी संवत्को पात्रोअनुसार रमदान आज सकिएर भोलि बिहीबार शव्वाल महिना सुरु हुँदैछ । शव्वालको पहिलो दिन ईद मनाइन्छ ।

इस्लाम परम्परामा चन्द्रमास (इस्लामिक पात्रोअनुसार) तालिकाअनुसार पात्रो बन्ने चलन छ । यसैले हिजरी संवत्का महिना सामान्यतया चन्द्रमा देखिने शुक्लपक्षको द्वितीया तिथिबाट सुरु हुन्छन् ।

इमामहरूका अनुसार हिजरी संवत् परम्परामा रमदान नवौँ महिना हो । इस्लाम परम्परामा यसै महिनामा पवित्र कुरान पृथ्वीमा अवतरित भएको मानिन्छ । त्यसैले मुस्लिमहरू रमदान महिनामा दिनभरि केही नखाइ उपवास बसेर सद्विचार, सद्आचरण र सत्कर्ममा लागि रहन अल्लाह (ईश्वर) सँग पुकारा गर्छन् ।

रमदान महिनाभरिको रोजा (उपवास)को उत्सवमय समापन नै ईद भएको पाका इस्लाम धर्मावलम्बी बताउँछन् । ईदमा हुनेखानेले गरिबका लागि दान गर्छन् ।

अहिले रमदान समापन हुन लागेका बेला प्रत्येक बस्तीमा कुरान वाचन भइरहको छ । महोत्तरीका सबैजसो बस्तीमा धेरथोर इस्लाम धर्मावलम्बी छन् । जिल्लाका सम्सी, जलेश्वर, मटिहानी, लोहारपट्टी, भङ्गाहा र बलवासहितका स्थानीय तहका धेरै बस्ती मुस्लिम बसोबास बाहुल्य छन् । ईदको चहलपहल सबैतिर भए पनि इस्लाम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्ती अहिले ईदमय बनेका देखिदा छन् ।

प्रकाशित मिति:April 10, 2024