अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

Nepal Cover
२८ चैत्र २०८०, बुधबार
image

 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल काँग्रेस र अन्य विपक्षी दलहरू राप्रपा र लोसपाको विरोधका कारण प्रतिनिधि सभाको बुधबारको बैठक अवरुद्ध भएको छ । प्रतिनिधि सभाको बैठक वैशाख २ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभामा काँग्रेसले सहकारी घोटालाको छानबिन गर्नका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ । राप्रपाले मंगलबार आफ्नो पार्टीको प्रदर्शनमा भएको प्रहरी दमनको विरोधमा बैठकमा उभिएर अवरोध गरेको थियो । त्यस्तै राप्रपाले सहकारी घोटालाको पनि छानबिन गर्नुपर्ने माग गरेको थियो ।

मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै बैठक अवरुद्ध गरेका थिए भने बुधबारको बैठकमा पनि कांग्रेसको अडान कायमै रहेको छ ।

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको भने सरकार समिति बनाउने पक्षमा छैन ।