काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका निम्ति राजनीतिक तहमा संवाद सुरु भएको र समस्या चाँडै समाधान हुने बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै हुने उल्लेख गरे ।
कांग्रेसको माग राजनीतिक आग्रह पूर्वाग्रहबाट प्रेरित भएको भन्दै संसदीय छानबिन समिति नबन्ने बताए । ‘अहिले रवि लामिछानेलाई नै लिएर जसरी समितिको माग भएको छ, त्यो मिल्ने कुरा छैन,’ बिहीबार बिहान विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘…समिति रविलाई भनेर बन्दैन, त्यो बन्न सक्दैन ।’
उनले सहकारीसँग सम्बन्धित समग्र विषयको अलग्गै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गरे । “अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो केस भनेर सोधेको थिएँ । उहाँहरूले यस केसमा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।”
नेपाली कांग्रेसले यसलाई राजनीतिक इस्यु बनाएको आरोप लगाउँदै प्रधानमन्त्री प्रचण्डले यसको समाधान राजनीतिक समझदारीबाटै गर्नुपर्ने बताए । ‘रवि लामिछानेको केस अलग्गै र सहकारीको समस्या अलग गरेर छलफल गर्यो भने समाधान निस्किन पनि सक्छ भन्ने तिर गइराख्या छ र हाम्रो कोसिस पनि त्यतै छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि यसलाई राजनीतिक मुद्दा बनाइएको उनको भनाइ छ । “पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो । सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ,” उनले भने ।
पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने उनले बताए ।