नाउपाका सांसद चौधरी पार्टीबाट निलम्बित

  Sampatti News Online

April 12, 2024

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी ३ महिनाका लागि निलम्बनमा परेका छन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् । 

अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक-पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।

पत्रमा चैत १४, १५ र २५ गते चौधरीलाई छलफलका लागि बोलाइएको तर अध्यक्ष चौधरीलाई निराश बनाउने गरी उनी बैठकमा उपस्थित नभएको उल्लेख छ ।

शुक्रबार बिहान घनश्यामको अध्यक्षतामा बसेको रेशम चौधरी पक्षका चार जना सांसदको बैठकले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । रञ्जिता पक्षबाट कैलाश चौधरी मुख्यमन्त्रीको आकांक्षी छन् ।

प्रकाशित मिति:April 12, 2024