सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका चौधरीको दाबी पेश

  Sampatti News Online

April 14, 2024

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेश गरेका छन् । उनले नेपाली कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

आज बिहान बालुवाटारमा नयाँ सत्ता गठबन्धनका दलबीच उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति भएकाे थियाे। जसमा रन्जिता पक्षीय कैलाश चाैधरीलाई मुख्यमन्त्री बनाउने सहमति गर्दै नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ धनगढी आउँदै छिन्। तर, यता नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नाउपा रेशम पक्षको अलग्गै समझदारी बनेको हो।

समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहबीच सहमति भएसँगै चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। सरकार निर्माणको लागि २६ सिट भए पुग्छ। कांग्रेसको १८, समाजवादीको ४ र नाउपा (रेशम) ४ गरी २६ पुग्छ।

यहाँ बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ। तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको र हालै नाउपा सांसद इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन्। प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयसीमा आज सकिँदै छ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रकाशित मिति:April 14, 2024