सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाशको पनि दाबी

  Sampatti News Online

April 14, 2024

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि दाबी गरेका गरेका छन् ।उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

यसअघि नाउपाका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका थिए । कैलाशले प्रदेश प्रमुख नाजिर मियाँलाई आइतबार अपराह्न भेटेर मुख्यमन्त्रीमा दाबी पेस गरेकाे पत्र बुझाएका हुन् । लक्ष्मणकिशाेरले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित मुख्यमन्त्रीकाे दाबी पेस गरेका हुन् ।

नाउपाभित्र आपसी झगडा रहेका कारण दुई जनाकाे दाबी पेस भएकाे हाे । सुदूरपश्चिममा सरकार गठन गर्न २७ सांसदकाे समर्थन चाहिन्छ । लक्ष्मणकिशाेर नाउपाका संरक्षक रेशम चाैधरी पक्षका हुन् भने कैलाश अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका ।

बालुवाटारमा आज बिहान नाउपालाई मुख्यमन्त्री दिने सहमति भएकाे थियाे । अर्काेतिर सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा एसले पनि दाबी गरेकाे थियाे । बालुवाटारमा बिहान भएकाे बैठकमा पनि एस अध्यक्ष माधवकुमार नेपालले मुख्यमन्त्री आफ्नाे पार्टीले पाउनुपर्ने अडान राखेका थिए । तर, आफ्नाे माग बेवास्ता गरिएपछि उनी रिसाएका थिए । त्यसपछि कांग्रेससहितकाे वैकल्पिक गठबन्धन बन्ने सम्भावना बढेकाे थियाे । तर, नाउपाबाटै दुई जनाकाे दाबी पेस भएपछि प्रदेश प्रमुखले के गर्लान् भन्ने प्रतिक्षाकाे विषय बनेकाे छ । 

प्रकाशित मिति:April 14, 2024