स्टार डिजिटल वर्ल्ड भाग्यो, अभियान भाग्ने तयारीमागृह

प्रशासन रमिते, घुमुवा रमाउदै

  Sampatti News

April 15, 2024

बिरगंज ।प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवी लामिछानेले सुशासनको प्रत्याभूति नागरिकमा गराउने उदेश्यले नीतिगत निर्णय र निर्देशन गर्दै आएपनि कार्यान्वयन गर्ने निकायहरु भ्रष्ट्राचारमा लिप्त हुँदै गएपछि सरकारले थालनी गरेको जनतामा आशा जगाउने अभियान तत्काल सम्भव नहुने देखिएको छ ।

स्टार डिजिटल वर्ल्ड प्राईभेट लिमिटेडका सञ्चालक राकेश कुमार वर्णवालले आफ्ना ग्राहकहरुलाई सदस्य बनाई करोडौं रकम लिएर भागेको महिनौं बित्तिसक्दा पनि प्रहरीको फरार सूचिमा रहेका वर्णवाललाई हालसम्म पक्राउ गर्न असफल रहँदा पिडितहरु घर न घाटका भएका छन् । स्टार जस्तै कार्य गरिरहका अभियान डिजिटल वर्ल्ड प्राईभेट लिमिटेडले आफ्ना ग्राहकहरुलाई १९ औं किस्ता खेलाई करोडौं करोड अपचलन गरी भाग्ने तयारीमा रहेको समाचार स्रोतको कथन रहेको छ ।
स्टार त भाग्यो–भाग्यो, अभियानका मुख्य सञ्चालक विष्णु प्रसाद काफ्ले र सहायक सञ्चालकहरु वीरगंज घडिअर्वा निवासी दिपेश वर्णवाल, रानीघाट निवासी सुशिल सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्ता लगायतकालाई स्थानीय प्रहरी प्रशासनले बेलैमा पक्राउ गरी कानुनी प्रक्रिया अगाडि नबढाउँदा ग्राहकहरुको करोडौं करोड रकम डुब्ने र ग्राहकहरु बिल्लीबाठ हुने निश्चित जस्तै देखिएको अभियानमा कार्यरत्त एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
अभियान डिजिटल वर्ल्ड प्राईभेट लिमिटेडले किस्ताबन्दीको नाममा ग्राहक ठग्दै गरेको समाचार विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशन भए पनि स्थानीय प्रहरी प्रशासनले कारवाही गर्नुको सटा हालसम्म मौन बस्नुले अनेकन किसिमको शंका उपशंका उब्जिन थालिएको छ ।
अभियान डिजिटलले किस्ताबन्दीको नाममा ग्राहकहरुलाई ठग्ने गर्ने गरेको यथार्थ कुराहरु वीरगंजवासी सँग लुकेको छैन् । डिजिटलको अबैध किस्ताबन्दीको धन्दा अझै सुचारु रहेको कारण पिडितहरु घर न घाटका भएका छन् । पाठकवृन्द, किस्ताबन्दीमा सामग्रीहरु उपलब्ध गराउनुको मतलब ग्राहकलाई पहिला सामान दिनु पर्छ र सो ग्राहक सँग सामान वापतको रकम किस्ताबन्दीमा उठाउनु पर्छ । तर अभियानका सञ्चालकहरुले ग्राहक कार्ड छपाएर प्रत्येक ग्राहक सँगमासिक ११ सय ७५ रुपैया असुल्दै मासिकै पिच्छे एकान्त ठाउँमा चिठा खोल्ने गरेका छन् ।

चिठा खोल्ने काम युट्युबमार्फत हुन्छ । त्यसमा जो ग्राहक छ त्यसैलाई मात्र सो युट्युबमा जोडिएको ग्राहकहरु नै बताउँदछन् । नेपालमा चिठा खोल्ने कार्य कानुन विपरितका काम हुन् । महिनै पिच्छे किस्ताबन्दीमा रकम असुल्दै चिठा खोल्दै कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरु देखाउँदै सदस्यहरुलाई अभियानले ठगी गर्दै आएको प्रष्टै देखिन्छ । अभियानले अभियान नामक टिभी एसेम्बल गरी उत्पादन गर्ने उदेश्यले कम्पनीको रजिष्टारबाट काठमाडौं–१३ मा गर्ने अनुमति लिएको हो ।
सञ्चालक काफ्लेले कम्पनी रजिष्टारको कार्यालय र घरेलु तथा साना उद्योगको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा अभियान डिजिटल वर्ल्ड प्राईभेट लिमिटेड दर्ता गराउँदा उद्देश्यमा ईलेक्ट्रोनिक सामानहरु एसेम्बलीङ गरी विक्री गर्ने भनिए पनि स्थानीय प्रहरी प्रशासनहरुलाई मोटो रकम बुझाउँदै देशको दर्जनौ ठाउँमा गोलाप्रथाद्वारा किस्ताबन्दी खेलाउँदै ठगी धन्दा गर्ने गरेको बताईन्छ ।
वीरगंजको कार्यालयमा साझेदारी रही जिम्मा पाएका घडिअर्वा निवासी दिपेश वर्णवाल, रानीघाट निवासी सुशिल सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्ता वीरगंजमा बिवादित र नेटवर्किङ्गको काममा माहिर व्यक्तिको रुपमा चिनिने गरिन्छ । सुरु–सुरुमा अभियान डिजिटलमा काम गर्ने गरेका वीरगंजका राकेश कुमार वर्णवालले अबैध धन्दाको मोटो आम्दानी देखेपछि अभियानबाट छुटिएर केही महिना देखि सञ्चालनमा आएको स्टार डिजिटल वर्ल्ड प्राईभेट लिमिटेड नामक कम्पनि दर्ता गराई अभियान सरहकै ठगी धन्दा सुचारु गर्दा हजारौं सदस्यहरुलाई बिल्लीबाठ बनाई फरार भएका छन् ।

अभियानले पर्साका प्रहरी प्रशासनलाई रिझाउदै आफ्नो काम अझै सुचारु राखेको छ भने स्टार डिजिटल वर्ल्डले स्थानिय प्रहरी प्रशासनलाई रिझाउन नसक्दा फरारको सुचिमा रहेको प्रहरी स्रोतको भनाई रहेको छ । प्रहरीको फरार सुचिमा रहेका स्टारका वर्णवालले कार्यालयमा ताला झुण्डयाउदै सम्पर्क विहिन भएपछि पिडितहरु घर न घाटका भएका छन् । अभियानको कार्यालय वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वामा रहेको छ भने स्टारको कार्यालय वीरगंज महानगरपालिका वडा नं. १५ भेडियाहीमा रहेको छ । यस सन्दर्भमा अभियानका सञ्चालक विष्णु प्रसाद काफ्ले सँग मोबाईल फोन गरी प्रतिक्रिया लिन खोज्दा उनले हामी चिठा नखेलाई आफ्नो ग्राहकहरु बीच लक्की ड्र गराएको दाबी गरे ।

यसै सन्दर्भमा मधेश प्रदेश प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेल सँग प्रतिक्रिया लिन खोज्दा उनले पर्साका क्राईम ब्रान्चका बरिष्ठ सई रमेश बजगाईको नम्बर दिएर वहाँ सँग सम्पर्क गर्न भने । बरिष्ठ सई बजगाई सँग पटक–पटक सम्पर्क गर्दा यथाशिघ्र ठगी गर्नेहरुलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउदै आए पनि हालसम्म अभियानको ठगी धन्दा सुचारु नै रहेको कारण सचेत नागरिकहरु आश्चर्यचकित भएका छन् ।

चिट्ठा ऐन २०२५ को दफा २ मा चिट्ठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको छ । तर दफा ३ मा नेपाल सरकारको स्विकृति लिएर चिट्ठा खोल्न सकिने व्यवस्था पनि रहेको छ ।

३ को उपदफा (क) मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धि कार्यको सहायतार्थ चिट्ठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिट्ठा खोल्दा चिट्ठा विक्रि भई प्राप्त भएको कुल रकम मध्येबाट ६० प्रतिशत पुरस्कार बाँडिने छ । त्यसपछि बाकी हुन आएको रकमलाई सम्बन्धित संस्थाले परोपकारी सार्वजनिक हित सम्बन्धि र चिट्ठा सञ्चालन सम्बन्धि काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ । तर गैरकानुनी रुपले चिट्ठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख छ । – नवलपुर दैनिकबाट

प्रकाशित मिति:April 15, 2024