एकैपटक पाँच सचिवको सरुवा, युवा तथा खेलकुद मन्त्रालयमा अर्याल

  Sampatti News Online

April 15, 2024

काठमाडौँ । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव दिनेश भट्टराईको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा हुदाँ उक्त मन्त्रालयका सचिव सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । युवा मन्त्रालयका सचिव रबिलाल पन्थको केहि समय अघि निर्वाचन आयोगमा सरुवा हुदाँ उक्त मन्त्रालयमा सचिवको पद रिक्त रहेको थियो ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव अर्जुनप्रसाद पोखरेलको राष्ट्रिय तथ्याङ्क कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको जिम्मेवारीमा सरुवा भएको छ । यस अघि प्रमुख तथ्यांक अधिकारीको जिम्मेवारीमा रहेका सचिव तोयम राय महालेखापरीक्षकमा सिफारिस भएपछि उक्त पद रिक्त भएको थियो ।

बैठकले उपराष्ट्रपतिको कार्यालयमा सचिव मुकुन्दप्रसाद निरौलाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गर्दा त्यहाँका सचिव विनोदप्रकाश सिंहको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ । आयोगका सचिव कृष्णबहादुर राउतको केहि दिन अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग सचिवमा सरुवा भएपछि आयोगमा सचिवको पद रिक्त भएको थियो ।

प्रकाशित मिति:April 15, 2024