खानेपानीका कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News Online

April 15, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख राजीव रिमालसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले आयोजनाको पाँच लाख ६१ हजार ४८१ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले रिमालका साथै सब–इन्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर राहीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दर्ता गरेको हो ।

मुगुको सोरु गाउँपालिका ५ स्थित नेर सिँचाइ आयोजनाको पाइपलाइन निर्माणका क्रममा गलत विवरण बुझाइ उपभोक्ता समितिलाई गैरकानुनी लाभ र सरकारलाई हानी नोक्सानी पुर्‍याएको अख्तियारले दाबी गरेको छ ।

सिँचाइ आयोजनाको पाइपलाइन १७ सय हुनुपर्नेमा ८१२ मिटर मात्रै बनाएको र पूरा भएको भनी झूठो विवरण पेश गरी हानी नोक्सानी पुर्‍याएको अख्तियारले दाबी गरेको छ ।

प्रकाशित मिति:April 15, 2024