वैदेशिक व्यापारमा कमी, नेपालको व्यापार घाटामा

  Sampatti News Online

April 21, 2024

काठमाण्डौ । वैदेशिक व्यापारमा नै कमी आएपछि नेपालको व्यापार घाटामा पनि कमी आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । गएको वर्षको १० महिनामा नेपालको व्यापार घाटा १० खर्ब ८३ अर्ब रुपैयाँ रहेको थियो । व्यापार घाटा दुई दशमलव ७५ प्रतिशतले घटेको छ ।
समग्र व्यापार भने दुई दशमलव ९२ प्रतिशतले घटेको छ । गएको वर्षको १० महिनामा १३ खर्ब १९ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएकोमा यो वर्षको साउनदेखि चैतसम्म १२ खर्ब ८१ अर्ब रुपैयाँको व्यापार भएको विभागले जनाएको छ ।
१० महिनामा ११ खर्ब ६७ अर्ब रुपैयाँको वस्तु विदेशबाट आयात भएको छ । यो गएको वर्षको १० महिनाको तुलनामा दुई दशमलव ८४ प्रतिशतले कमि हो ।
यस्तै १० महिनामा एक खर्ब १३ अर्ब रुपैयाँको वस्तु नेपालबाट निर्यात भएको छ । गएको वर्ष १० महिनामा एक खर्ब १८ अर्ब रुपैयाँको वस्तु निर्यात भएको थियो । १० महिनामा ३७ अर्ब रुपैयाँको खाद्यान्न र गेडागुडी आयात भएको छ । यस्तै २२ अर्ब ८७ करोड रुपैयाँको तरकारी, १७ अर्ब ३१ करोड रुपैयाँको फलफूल, ३७ अर्ब ८२ करोड रुपैयाँको घिउ तेल र २१ अर्ब रुपैयाँको खाद्यान्न उद्योगका लागि चाहिने कच्चा पदार्थ लगायत आयात भएका छन् ।
यस्तै १० महिनामा दुई खर्ब ४६ अर्ब रुपैयाँको पेट्रोल, डिजल र एलपी ग्यास भित्रिएको छ । ३० अर्ब रुपैयाँको औषधि, ९७ अर्ब २४ करोड रुपैयाँको फलाम र स्टिल, ७७ अर्ब रुपैयाँको मेशिन र पाटपुर्जा, ७६ अर्ब रुपैयाँको विद्युतीय सामान आयात भएको भन्सार विभागले जनाएको छ ।

प्रकाशित मिति:April 21, 2024