August 24, 2020
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ । बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावतमा समस्या भएको दुवाडीका याम घर्तिमिरेले जानकारी दिए । “खाद्यान्न ढुवानी, बिरामी स्वास्थ्य संस्थामा जान र काम विशेषले छिमेकी गाउँमा जान पाइएको छैन,” उनले भने “खोलामा जङ्घार तरेर अथवा घुमाउरो बाटो हिँड्नुपर्ने भएकाले जनजीवन कष्टकर भएको छ ।”
दुवाडी र ढाड जोड्ने बन्दीघाटको ७८ मिटर र खरिबोटस्थित १ सय १८ मिटर लामो झोलुङ्गे पुल बाढीले बगाएको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले जानकारी दिए । “एकरातेको ६० मिटर लामो भाकर झोलुङ्गेपुल र छहरीस्थित ७८ मिटर लामो झोलुङ्गे पुलको एकातर्फको भाग नदीमा खसेको छ,” उनले भने “दुवाडी, घ्याँसीखर्क, पात्लेखर्क, चौरखानी, खरिबोटलगायत बस्तीका २०० भन्दा बढी घरधुरीलाई आवतजावतमा समस्या भएको छ ।”
विसं २०७७ को साउन महिनायता विभिन्न समयमा रघुगङ्गा नदीमा आएको बाढीले पुल बगाएको हो । बगाएको सबै पुल रघुगङ्गा नदी माथिका हुन् । सबै पुलको दायाँतर्फको भागमा कटान गरेर बगाएको छ । कुइनेमङ्गले म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गाउँ हो ।
यसैगरी पहिरोले कुइनेमङ्गलेका विभिन्न बस्तीमा पाँच घर पुरिएका र २१ घर विस्थापित भएका छन् । दुवाडीमा दुई वटा र पात्लेखर्कमा एउटा घर पुरिएका तथा छहरीमा दुई वटा घर रघुगङ्गा नदीले कटान गरेर बगाएको वडाध्यक्ष छन्त्यालले बताए ।
चौरखानीमा एउटा सामुदायिक भवन, १० घर र दुवाडीमा १० घरमा क्षति पुगेको छ । पहिरोका कारण जमिन धाँजा फाटेर चिरा पर्न थालेपछि स्थानीयले घर छाडेका छन् । चौरखानीका चन्द्रबहादुर छन्त्याल, दलबहादुर विक, नरप्रसाद छन्त्याल, थमबहादुर छन्त्याल, उत्तम छन्त्याल, रेमान छन्त्याल, रामप्रसाद छन्त्याल, गमबहादुर छन्त्याल, हर्क छन्त्याल र नरमान छन्त्यालको घरमा क्षति पुगेर विस्थापित भएका छन् ।
रु १४ लाख खर्चेर दुई वर्षअघि चौरखानीमा निर्माण गरिएको सामुदायिक भवनसमेत पहिरोका कारण चिरा परेर भत्किएको छ । बाउन्न घर भएको चौरखानीमा हाल ३७ परिवारको बसोबास छ । पहिरो नियन्त्रणको प्रयास सफल नभएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चौरखानीका बासिन्दालाई अन्यत्र स्थानान्तरण गराउनुपर्ने बस्तीको सूचीमा राखेको छ ।
जग्गा पहिचान हुन नसक्दा बस्ती स्थानान्तरणको योजना कार्यान्वयन हुन सकेको छैन । भूगर्भविद्को टोलीले अध्ययन गरेर बस्ती सार्न सुझाव दिएका थिए । यसैगरी घ्याँसीखर्क हुँदै चौरखानी जोड्ने पदमार्गसमेत पहिरोले भत्काएको छ । रघुगङ्गा गाउँपालिकाले गत आर्थिक वर्षमा रु १३ लाख खर्चेर ढुङ्गाको सिँढी चिनेर चौरखानी पुग्ने पदमार्ग बनाएको थियो ।
प्रकाशित मिति:August 24, 2020
November 24, 2024