काठमाडौँ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दुर्व्यवहार गर्नेहरुलाई कारबाही गर्न नेपाल तरुण दलले सरकारसँग माग गरेको छ ।
तरुण दलले कोरोना संक्रमणको महामारीको बेला अग्रपंतिमा रहेर सेवामा खटिएकाहरुले मनोबल बढाउने कार्य गर्नुपर्ने समयमा दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको हो ।
तरुण दल अध्यक्ष जितजंग बस्नेतले सोमबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अमानवीय व्यवहारमा संलग्न जोसुकै होस् कारबाहीको दायरामा ल्याउन र अग्रपंतिमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’
जोखिमपूर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सन्चारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति तरुण दलले सम्मान प्रकट गरेको छ ।