August 26, 2020
काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगन गरिएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गई गत हप्तादेखि लागू गरिएको निषेधाज्ञाका कारण मेला स्थगन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनी सिम्खडाले जानकारी दिए । कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।
कागे अष्टमीसमेत भनिने आजका दिन कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास छ ।
श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ ।
मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण शुरु भएको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताए ।
एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । विसं २०७२ मा तत्कालीन संविधानसभा सदस्य एवं हाल वाग्मती प्रदेशका मन्त्री फुयाँलको अग्रसरतामा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते महोत्सवको शुरुआत गरिएको छ ।
यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ । नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । फागुनमा हुने महोत्सव एवं भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिन्छ ।
कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोबास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।
कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । यस वर्ष भने कागेश्वरीमा नित्य पूजा आराधना मात्र गरिने नगरपालिकाले जनाएको छ । कोरोनाबाट बच्न घरघरबाटै कागेश्वरी महादेवको पूजा आराधना गर्न नगरपालिकाले आह्वान गरेको छ ।
प्रकाशित मिति:August 26, 2020