राप्रपा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

  Sampatti News Online

May 1, 2024

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नवलपुरको छिपछिपे सहकारीको रकम हिनामिना गरेको भन्दै परेको उजुरीमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

अदालतले बस्नेतलाई पक्राउ गर्न अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय नवरपुरले सांसद बस्नेतलाई पक्राउ गर्न आइतबार नै अनुमति मागेको थियो । 

संघीय संसद् सचिवालयको अनुमति लिएर पक्राउ गर्नुपर्ने भएकाले प्रक्रियामा अघि बढाएको नवलपुर प्रहरीले जनाएको छ । बस्नेतसमेतको संलग्नतामा नवलपुरसहित बुटवल र बर्दियामा सहकारीको रकम हिनामिना भएको पाइएको छ ।

कावासोतीमा रहेको छिपछिपे सहकारीको १६ करोड ६९ लाख रकम हिनामिना गर्ने मुख्य योजनाकार रहेका योगेन्द्र पाण्डेसहित ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । नगेन्द्र बहादुर रिमाल, विकास सापकोटा, कृष्ण ज्ञवाली, सञ्जीव कुमार महतोलगायतलाई प्रहरीले पक्राउ गरिसेकेको हो । सहकारी ठगी प्रकरणमा ६ जना पक्राउ परिसकेको र थप अनुसन्धान भइरहेको नवलपुरका एसपी नरहरि रेग्मीले जानकारी दिए ।

नवलपुर प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अघि बढाएको प्रक्रियाअनुसार जिल्ला अदालतले सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

प्रकाशित मिति:May 1, 2024