कास्कीमा नेपाल प्रहरीको ‘मोबाइल एप’ सञ्चालनमा

  Sampatti News

August 27, 2020

कास्की । जिल्ला प्रहरी कार्यालयले गण्डकी प्रदेशमा पहिलोपटक प्रहरीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउने उद्धेश्यले ‘पाइलट प्रोजेक्ट’का रुपमा ‘नेपाल पुलिस मोबाइल एप’ सञ्चालनमा ल्याएको छ ।

समुदायमा घट्ने आपराधिक क्रियाकलाप, घटना तथा सूचनालाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयले विकास गरेको सो एपले सघाउने विश्वास सहित सञ्चालनमा ल्याइएको हो । कार्यालयले आज ‘भिडियो कन्फ्रेन्स’मार्फत पत्रकार सम्मेलन गरी एप सार्र्वजनिक गरेको छ ।

जिल्लाको समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने उदेश्यले थप सूचनाको माध्यमका रुपमा एप गण्डकी प्रदेशमै पहिलो पटक शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

‘एन्ड्रोइड’ र ‘आइफोन’ दुवै सेटमा सञ्चालन हुने एप्स डाउनलोडपछि सर्वसाधारणले घटनाका बारेमा आफू रहेकै स्थानबाट प्रहरीलाई जानकारी गराउन सक्ने र प्रहरी कार्यालयसम्म आउनुपर्ने बाध्यता नहुने भएकाले समयको समेत बचत हुने उनको भनाइ छ ।

घरेलु हिंसा, लुटपाट चोरी, ज्यानसम्बन्धी, सवारी दुर्घटना, ठगी, यौनजन्य अपराध, लागुऔषध, मानिस हराएको, हातहतियार तथा विष्फोटक पदार्थ सम्बन्धी जानकारीका बारेमा प्रहरीलाई सो माध्यबाट रिर्पोटिङ गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी नजिकको प्रहरी कार्यालयका सम्पर्क नम्वर, प्रहरी सन्देश तथा समाचार, आपत्कालिन सम्पर्क नम्बर एप्समा समावेश गरिएको छ । गुगल प्लेस्टोरबाट सो एप डाउनलोड गरी सञ्चालन गर्न सकिनेछ ।

प्रकाशित मिति:August 27, 2020