सुदूरपश्चिमः मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

  Sampatti News Online

May 16, 2024

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मतका लागि उनले पेस गर्नुभएको प्रस्तावको पक्षमा २८ र विपक्षमा शून्य मत विभाजन भएकाले मुख्यमन्त्रीले प्रदेश सभाबाट बहुमत प्राप्त गरेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमत प्राप्तिका लागि २७ जनाको समर्थन आवश्यक पर्दछ । मतदानमा २८ जना प्रदेश सभा सदस्यले सहभागिता जनाएका थिए । विपक्ष र तटस्थमा शून्य मत परेको सभामुख भण्डारीले जानकारी दिए।

नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उनी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई जना जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री नियुक्तिको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका पाँच जना सदस्यले विरोध जनाएका थिए । उनीहरुको विरोधको बाबजुद मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि सदनमा प्रस्ताव पेस गरेका थिए।

प्रकाशित मिति:May 16, 2024