सहकारी प्रकरणको छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

Nepal Cover
६ जेष्ठ २०८१, आईतवार
image

काठमाडौँ । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी छ । बैठक कानुन मन्त्रालयमा बसिरहेको छ ।

शनिबार सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएका थिए। संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदलसमेत गठन भएको थियो।

सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको थियो। उसले संघीय संसद्को कामकारबाही पनि अघि बढाउन दिएको थिएन।

कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद शिशिर खनाल रहेका छन्। संसदीय छानबिन समिति बनाउने सहमति जुटेसँगै आजदेखि संसद्‌मा कांग्रेसले अवरोध नगर्ने भएको छ।

आज पनि बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ।