सिरोहियाको गिरफ्तारीप्रति तीन निजी क्षेत्रको ध्यानाकर्षण

  Sampatti News Online

May 23, 2024

सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रका तीन छाता संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै निजी क्षेत्रका उद्योगी व्यावसायिकहरूका तीनवटा ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका छन् । कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही कारबाहीको भागिदार हुने भए पनि यसरी धरपकड गर्न नहुने उनीहरूको भनाइ छ ।

कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्नेजस्ता कार्यले सकारात्मक सन्देश नजाने उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरूका कुरा सुनिदिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरेको थियो । सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । बुधबार जिल्ला अदालत धनुषाले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद दिएको छ ।

प्रकाशित मिति:May 23, 2024