सबै सांसद र नेतामाथि छानबिन गर्न काँग्रेस तयार छ : विश्वप्रकाश

  Sampatti News Online

May 23, 2024

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण संसदीय छानबिन समिति बनाउनुपर्ने कुरा दोहोर्‍याएका छन् ।  

नेविसंघ झापा काठमाडौँ सम्पर्क मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै काँग्रेसले सहकारीको विषयमा व्यक्तिकेन्द्रित मात्रै कुरा नउठाएको उनको स्पष्टोक्ति छ ।

दोष व्यक्तिले बोक्ने कि कम्पनीले भन्नेमा सर्वाेच्चले ०६८ मा ‘कम्पनीको आत्मा हुँदैन, व्यक्तिबाट सञ्चालित हुन्छ, त्यसैले व्यक्तिहरू नै बेइमानी र बेथितिको जवाफदेही हुनुपर्ने’ आदेश गरेको उल्लेख गर्दै शर्माले यो नजिरले रवि लामिछाने र जिबी राई सामेल भएको गोर्खा मिडिया नेटवर्क पनि आकर्षित हुने जिकिर गरे । राई र लामिछाने जिम्मेवार पदमा भएकै वेला आधा दर्जन बढी सहकारीको ८० करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको उनले बताए । 

उनले भने, ‘काँग्रेस दृढतापूर्वक सहकारी ठगीको सन्दर्भमा पनि बोलिरहेका छौँ । प्रश्न एकजना व्यक्तिको कुरा मात्रै होइन । संसदमा उभिएर उहाँले पलानोमाथि यो आरोप छ, अर्कोमाथि यो आरोप छ, भनेर बढा घुमाउरो स्वीकारोक्ति । त्यो भनेको अरू-अरूमाथि पनि छ त ममाथि मात्रै किन देख्छौ ? भनेको हो ।’

उनले काँग्रेसको पार्टी सभापतिदेखि सदस्यसम्मका परिवारसम्मको छानबिन गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै नाम नै लेखेर समिति गठन गर्न तयार रहेको बताए ।

उनले भने, ‘काँग्रेसको सांसदमाथि, चलनचल्तीको भाषामा दाजुभाउजूमाथि छानबिन गर्न तयार छ । छानबिन गम्भीर हुनुपर्छ । कुनै राजनीतिक दलले आफ्नो पार्टीको सबै छानबिन गर भनेर अरू कसैले भन्न सक्दैन ।’

प्रकाशित मिति:May 23, 2024