September 1, 2020
कोरोना महामारीले शैक्षिक क्रियाकलापहरु ठप्प भएपछि पूर्वाञ्चल विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिने तयारी गरेको छ । कोरोनाका कारण विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा सञ्चालन गर्न नसक्ने भएपछि पूर्वाञ्चल विश्वविद्यालयले वैकल्पिक (टाइम–बाउन्ड होम एक्जाम) विधिबाट परीक्षा लिने भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न लागिएको जानकारी दिए ।
पूर्वाञ्जल विश्वविद्यालय प्राज्ञिक परिषद्को आइतबार र कार्यकारी परिषद्को सोमबारको बैठकले असोज पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
विश्वविद्यालयले टाइम–बाउन्ड होम एक्जाम लिने भन्दा यसको अर्थ के हो भन्ने लागेको होला, टाइम–होम एक्जाम भनेको परीक्षार्थीले घरमै बसेर दिने परीक्षा हो । विश्वविद्यायले परीक्षा सुरु हुनुभन्दा पहिला ३० मिनेट पहिले प्रश्नपत्र क्याम्पस प्रमुख वा केन्द्राध्यक्षलाई इमेलमार्फत पठाउँछ ।
क्याम्पस प्रमुख वा केन्द्राध्यक्षले परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि परीक्षार्थीको इमेलमा प्रश्नपत्र पठाउँछ ।
निर्धारित समयमा परीक्षा दिएर उत्तरपुस्तिकामा परीक्षार्थीलाई फेरी केन्द्राध्यक्ष वा क्याम्पस प्रमुखलाई पठाउँछ । केन्द्राध्यक्ष वा क्याम्पस प्रमुखले इमेलमार्फत पठाएको उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयले ‘क्लस्टर’ छुट्याएर जाँच्न पठाउँछ ।
परीक्षा नियन्त्रक प्रा.डा. संग्रौला यसबारे विस्तृत जानकारी सहितको निर्देशिका र परीक्षा कार्यक्रम यथाशीघ्र प्रकाशित गरिने बताए ।
तर नेपालको सन्र्दभमा जताततै अनलाईन मार्फत यसरी परिक्षा लिन असम्भव रहेको छ । यसलाई पनि मध्यनजर गर्दै मध्यपश्चिमाञ्जल विश्वविद्यालयले भने मध्यवर्ती परीक्षा अफलाइन र अनलाइन दुबै माध्यमबाट सञ्चालन गरेको छ ।
विश्वविद्यालयका परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदी विद्युत र इन्टरनेटको पहुँचमा नभएका परीक्षार्थीका लागि अफलाइन परीक्षा दिने व्यवस्था मिलाइएको बताएका छन् । उनका अनुसार अफलाइन परीक्षा दिने विद्यार्थीहरूले प्रश्नपत्र पाएको भोलिपल्टसम्म लेखेर बुझाउन सक्छन् ।
गत साउन १६ गते बसेको मध्यमाञ्चल विश्वविद्यालय पदाधिकारी बैठकले वस्तुगत, विषयगत र ‘प्रोजेक्ट बेस्ड एसाइनमेन्ट’को आधारमा प्रश्नपत्र तयार पार्ने निर्णय गरेको थियो ।
परीक्षार्थीले विश्लेषणात्मक र आलोचनात्मक ढंगले जवाफ दिनुपर्ने गरी प्रश्नपत्र बनाइएको परीक्षा व्यवस्थापन प्रमुख डा. सुवेदी बताउँछन् । मध्यवर्ती परीक्षामा अनुपस्थित विद्यार्थी सेमेस्टरको अन्तिम परीक्षामा सहभागी हुन नपाउने उनले जानकारी दिए ।
मध्यमाञ्चल विश्वविद्यालयद्वारा सार्वजनिक तालिका अनुसार भदौ १९ गतेसम्म मध्यवर्ती परीक्षा सम्पन्न भईसक्नेछ ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्को बैठकले सेमेष्टर परीक्षाको जिम्मा सम्बन्धित डिन कार्यालयलाई दिने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
तत्काल परीक्षा सञ्चालन हुन नसक्ने भएपछि डिनहरूले अर्को सेमेस्टरको अनलाइन परीक्षा सुरु गरेका छन् ।
व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले मातहतका सम्पूर्ण क्याम्पस प्रमुख, विभागीय प्रमुख र निर्देशकहरूलाई यसअघि नै परिपत्र गरिसकेका हुन्। परिपत्र अनुसार स्थिती सहज भएपछि मात्र परिक्षा लिेने बताईएको छ । भने वार्षिक परिक्षा दशैँपछि मात्रै लिने निर्णय भएको जोशीले बताए ।
प्रकाशित मिति:September 1, 2020
November 23, 2024