चार जिल्ला बाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण

  Sampatti News 2024

July 5, 2024

काठमाडौं । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेकका सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको जानकारी दिए।

मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गु रोगको सङ्क्रमण बढ्ने आँकलन गरेको छ ।

सबभन्दा बढी काठमाडौँमा एक सय ५९ जनामा डेङ्गु देखिएको छ । झापामा एक सय २० र चितवनमा ८३ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । उनले पानी सङ्कलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए ।

प्रकाशित मिति:July 5, 2024