बीएन्डसी मेडिकल कलेज : ५० जना विद्यार्थी एमबीबीएस पढाउन पाउने

  Sampatti News Online

September 7, 2024

काठमाडौं । दुर्गा प्रसाईको बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) पढाउन स्विकृति पाएको छ । कलेजले ५० जना विद्यार्थी अध्यापन गर्न पाउनेगरि स्वीकृति दिएका हो ।

कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए। आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको उनले जानकारी दिए।

विर्तामोड नगरपालिका वडा नं. ५ बिर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो ।

नेपाल सरकारबाट वि.सं. २०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको जनसम्पर्क अधिकृत गिरीले बताए।

सर्वोच्च अदालतले विसं २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।

प्रकाशित मिति:September 7, 2024