गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नरहेको अदालतको ठहर

Nepal Cover
२८ कार्तिक २०८१, बुधबार
image

काठमाण्डू, जिल्ला अदालत काठमाडौंले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नरहेको ठहर गरेको छ ।

समितिले पशुपति क्षेत्र विकास कोषसँग गरेका सम्झौतामा मोहियानी हक नरहेको कुरा स्वीकार गरिसकेको र यसअघि सर्वोच्च अदालतबाटै भएका फैसलामा समेत यस विषयको टुंगो लागिसकेकाले अहिले पुनः त्यही विवाद उठाउन नपाउने अदालतको ठहर छ ।

साथै, मोहियानी हकमा मारवाडीको दाबी नपुग्ने र करारको शर्त पालना नभएको अवस्थामा पशुपति विकास कोषले सम्झौता अन्त्य गर्न सक्ने फैसलामा उल्लेख छ ।

फैसलाअनुसार समितिले गौशाला धर्मशाला क्षेत्रमा कोषको सहमति नलिई व्यापारिक लाभका लागि जथाभावी संरचना थपेर बहालमा बस्ने अधिकारको दुरुपयोग गरेको छ ।

अदालतले सो विवादमा सुनाएको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा धर्मशालामा मारवाडीको कुनै पनि हक नभएको ठहर गरेको हो ।

ती संरचना बनाउँदा आधिकारिक निकायबाट नक्सापास गरिएको छैन । यस खालका गतिविधिबाट कोषसँग २०६० जेठ २२ मा भएको सम्झौता उल्लंघन भएको छ ।

धर्मशालामा सटर बनाएर व्यापारिक प्रयोजनले भाडामा लगाएको, त्यसबाट प्राप्‍त आय सर्वसाधारणले देख्‍ने थाहा पाउने गरी सार्वजनिक नगरेको र त्यो गैरनाफामूलक एवं विशुद्ध सर्वसाधारणको सेवा वा धार्मिक कार्यको लागि मात्र उपयोग गरिएको भन्‍ने प्रस्ट आधार पनि नदेखिएको फैसलामा लेखिएको छ ।