December 2, 2024
काठमाण्डू, प्रधानमन्त्री केपी ओली सोमबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् ।
चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान चीन प्रस्थान गरेका थिए ।
आफ्नो चारदिवसीय भ्रमणका क्रममा चीन पुग्नुभएका प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपविदेशमन्त्री सुन बेइदोङले र नेपाली राजदूत कृष्णप्रसाद ओलीसहितको टोलीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल बेइजिङस्थित चीन सरकारको अतिथिगृह देउताई गेस्ट हाउसमा रहेका छन् ।
सो अतिथिगृहमै प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल मङ्गलबारको उच्चस्तरीय भेटवार्ता र सम्झौताहरूको तयारीमा जुटेका छन् ।
मङ्गलबार प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको चीनस्थित नेपाली दूतावासले जनाएको छ ।
राष्ट्रपति सीसँगको भेटमा छिमेकी सम्बन्धलाई थप उचाइमा पु¥याउन दुई देशबिच बीआरआई सम्झौतामार्फत बलियो विकास साझेदारीलाई दीर्घकालीन कार्यान्वयनको रणनीतिका साथ कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा गहन छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा राष्ट्रपति सीसहित बेइजिङमा हुने उच्चस्तरीय वार्ताको तयारी उच्चस्तरमा भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मङ्गलबार नै चीनका प्रधानमन्त्री र लीबिच पनि द्विपक्षीय भेटवार्ता हुँदै छ । विकास साझेदारीसँगै जनसम्बन्धलाई थप मजबुत बनाउने विषयमा उनीहरुवीच घनीभूत छलफल हुने छ ।
उनीहरूको समुपस्थितिमा आयोजित एक समारोहकाबिच साझेदारीयुक्त योजना तथा परियोजनाहरूको आपसी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
सो भेटवार्तामा आपसी हित तथा दुई देशको सहकार्यलाई थप प्रगाढ बनाउने विषयमा छलफल हुने मन्त्रालयले प्रस्ट पारेको छ ।
त्यस्तै परराष्ट्र मन्त्रालयको कार्यसूची अनुसार प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीले पनि छुट्टै भेटवार्ता गर्ने
तालिका छ ।
बुधबारको कार्यसूची अनुसार प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने छन् ।
त्यसै गरी बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जनाइएको छ ।
प्रधानमन्त्री ओलीलाई सोमबार बिहान त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमानसिंहलगायत मन्त्रीपरिषद्का सदस्यहरू तथा अन्य विशिष्ट व्यक्तिले बिदाइ गरेका थिए ।
प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्यसहित नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, सञ्चारकर्मी, निजी क्षेत्रका प्रतिनिधि सामेल छन् ।
बीआरआई सम्झौताको तयारी
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीन सरकारबिच महत्वपूर्ण विकास योजनामा समझदारीपत्रसहित विभिन्न परियोजनामा हस्ताक्षर हुने भएको छ ।
त्यस्तै बीआरआई कार्यान्वयन फ्रेमवर्कसहितका भौतिक पूर्वाधारका विषयमा दुई सरकारबीच महत्वपूर्ण सम्झौताको तयारी भएको छ ।
मन्त्रीपरिषद्ले समझदारी तथा साझेदारी सम्झौताका लागि स्वीकृत गरेको चारबर्से विकास योजना २०२५–२०२९ लगायतका अन्य महत्वपूर्ण परियोजनाहरूमा हस्ताक्षर हुने भएको हो ।
चारबर्से विकास योजना समझदारीपत्रमा नेपाल सरकारको तर्फबाट अर्थ सचिवले नेपालका तर्फबाट हस्ताक्षर गर्ने छन् ।
अनुदान सहायतामा समझदारी हुने
त्यस्तै चीन सरकारद्वारा प्रस्तावित २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्नेसम्बन्धी आदानप्रदानपत्रको मसौदा स्वीकृत गर्दै त्यसमा नेपाल सरकारका तर्फबाट अर्थ सचिवले हस्ताक्षर गर्नुहुने तय भएको छ ।
त्यसै गरी प्रस्तावित तीन सय मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायतासम्बन्धी सम्झौतामा पनि अर्थ सचिवले नै हस्ताक्षर गर्ने तय भएको छ ।
शिक्षा तथा पूर्वाधार निर्माणमा सम्झौताको तयारी
त्यस्तै सरकारले नेपाल सरकार र चिनियाँ सरकारबिच नेपालमा बोल्ने चाइनिज ल्याङ्ग्वेज विकास प्रोग्राम परिचालनका सम्बन्धमा तयार भएको समझदारीमा पनि यस भ्रमणका अवसरमा सम्झौता हुने भएको छ ।
सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजन, रेडियो नेपाल र चाइना मिडिया गु्रपबिच हुने समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ ।
काठमाडौँ दोस्रो रिङरोड, अरनिको हाइवे, हिल्सा–सिमीकोट, आइसिडी, आइसिपी कोरला नाकामा आवश्यक पर्ने सबै सीमानाका व्यवस्थित गर्न चेकपोस्ट निर्माण गर्नेबारे दुई देशबिच सहमति हुने भएको छ ।
त्यसै गरी टोखा–छहरे सुरुङमार्ग, जिलुङ–केरुङ–काठमाडौँ क्रस बोर्डर रेलवे परियोजनाकोे अध्ययन, खाँदबारी–किमाथाङ्का सडकको अरुण नदीमा मितेरी पुल निर्माण, चोभारमा मल्टिफङ्सनल क्वारेन्टाइन ल्याब्रेटरी निर्माण, कृषि पूर्वाधार विकास पार्क, कोरलामा औद्योगिक जोन निर्माण गर्ने विषयमा पनि चीनसँग सम्झौता हुने छ ।
बीपी कोइराला क्यान्सर अस्पताल, चितवनमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।
बीआरआईमा भएका कुराको काम कसरी गर्ने भनेर प्रोजेक्ट प्रोग्राम बनाई अघि बढाउने निर्णय भएको उनले बताए ।
चीन सरकारले नेपाललाई एक सय वटा विद्युतीय गाडी, एक सय वटा प्रहरी भ्यान, ५० वटा स्कुल भ्यान, ५० वटा एम्बुलेन्स दिने गरी अन्य सम्झौता हुने जनाइएको छ ।
प्रधानमन्त्री ओली मङ्सिर २० गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति:December 2, 2024