काठमाण्डू, सहकारी ठगी प्रकरणमा हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अनुसन्धान जारी छ ।
सहकारी ठगी, सङ्गठित अपराधमा अनुसन्धान भइरहेको उनीमाथि सम्पत्ति शुद्धीकरणमा बलिया प्रमाण फेला परेको अधिकारीहरूले बताएका छन् ।
रवि र उनको पत्नी निकिताको खातामा झन्डै साढे २१ करोड आएको प्रमाण फेला पारेको कास्की प्रहरीले जनाएको छ ।
निकिताको खातामा कोरोना महामारीपछि ठुलो रकम दाखिला भएको देखिएको छ ।
४ वर्षमा ठुलो कारोबार भेटिएको भन्दै स्रोतले भन्यो, ‘ग्लोबल आईएमई र सिद्धार्थ बैंकमा रहेको रविको खाता तथा नेपाल बैंक र सिद्धार्थ बैंकमा रहेको निकिताको खातामा कुल २१ करोड ४० लाख ४२ हजार कारोबार देखिएको छ ।’
यति ठुलो परिमाणमा रकम कहाँबाट आयो र कहाँ गयो भन्ने तथ्य रविले स्थापित गर्न सकेका छैनन् ।
गत जेठमा उपप्रधान एवं गृहमन्त्री रहेको बेलामा रविले दुइटा बैंकमा गरी एक लाख १० हजार रुपैयाँ र पत्नी निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजार रकम रहेको सार्वजनिक गरेका थिए ।
तर, अहिले खोजी हुँदा करोडाँैकरोड रुपैयाँ बैंकमा मौजात रहेको देखिएको छ ।
स्रोतले भन्यो, ‘उनले पहिला बुझाएको सम्पत्ति विवरण र अहिले भेटिएको सम्पत्तिमा धेरै ठुलो अन्तर छ । यो सम्पत्तिको स्रोत देखाउन सकेनन् भने उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर्ने निश्चित छ ।’
कास्की प्रहरीले जिल्ला सरकारी वकिलमार्फत पुस ५ गते शुक्रबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको हुनाले ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्छ ।
रविले निकिताको नाममा गोरखा मिडियाको नामको चेक काटेर दिएको प्रमाण प्रहरीले पाएको छ ।
गोरखा मिडियाबाटै रविले ससुरा उद्धव पौडेलको स्वामित्व रहेको गोपीकृष्ण मुभिजको नाममा २५ लाखको चेक काटेको भेटिएको अनुसन्धानबाट खुलेको छ ।