एनपीएलमा जनकपुरलाई हराउँदै चितवन प्ले अफ नजिक

Nepal Cover
२९ मंसिर २०८१, शनिबार
image

काठमाण्डू, शीर्ष टोली जनकपुर बोल्ट्सलाई ३२ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को प्ले अफ नजिक पुगेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको खेलमा जीतका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४८ रनमा समेटियो ।

जितसँगै चितवनले सात खेलबाट आठ अङ्क बनाएको छ । चितवनलाई प्ले अफ पुग्न अन्य टोलीको नतिजा पनि पर्खनुपर्ने हुन्छ ।

अहिले पाँच खेल खेलेको सुदूरुपश्चिम रोयल्स र ६ खेल सकेको कर्णाली याक्सको पनि समान आठ अङ्क छ ।

लिगमा सबै खेल सकेको जनकपुर यसअघिनै प्ले अफमा पुगिसकेको छ । जनकपुरको सात खेलबाट १० अङ्क छ ।

चितवनको जीतले पोखरा र विराटनगर बाहिरिएको छ । दुवै टोलीको ६ खेलबाट चार चार अङ्क छ । लुम्बिनी लायन्स यसअघिनै बाहिरी सकेको छ ।

जनकपुरका लागि जेम्स निसमले अर्धशतकीय पारी खेले । सर्वाधिक ६५ रन बनाएका उनले २४ बलमा पाँच चौका र ६ छक्का हाने ।

निसम एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडी समेत बने ।

उनले १८ बलमै अर्धशतक पूरा गरे । यसअघि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा अर्धशतक पूरा गरे ।

यस्तै ओपनर आशिफ शेखले २३, शुभ कंशाकरले १५ र मोहमद मोसिनले १३ रन बनाउनुभयो । कप्तान अनिल शाह आठ रन जोड्दै पेभेलियन फर्के ।

बलिङमा चितवनका सोहिल तन्विर, कप्तान कुशल मल्ल र रिजन ढकालले दुई दुई तथा अमर रौटेला एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनाएको थियो ।

चितवनका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए ।

रवि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । यस्तै हसन इसाखिलले २८ र सन्तोष कार्कीले १४ रनको योगदान गरे ।

बलिङमा जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए । हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक एक विकेट झारे ।