ईयुको कालो सूचीबाट पाकिस्तान हट्दा हटेन नेपाल, सबै वायुसेवा उडानमा अझै प्रतिबन्ध

Nepal Cover
३० मंसिर २०८१, आईतवार
image

काठमाण्डू, युरोपियन युनियन युरोपियन युनियन (ईयू) को युरोपेली आयोगले पाकिस्तानलाई कालो सूचिबाट हटाउँदा नेपालको हवाइ क्षेत्रलाई कालो सूचीमा कायमै राखेको छ ।

ईयूले नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न प्रतिबन्ध कायमै राखेको हो ।

ईयूले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएका २० वटै वायुसेवा कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।

ईयूले नेपाली उड्डयन क्षेत्रलाई सन् २०१३ देखि यो सूचीमा राख्दै आएको छ । ईयूको प्रतिबन्ध कायमै रहेकोले अझै नेपाली जहाज युरोपको आकाशमा उड्न पाउनेछैनन् ।

नेपाल यसअघि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ ९आईकाओ० को ‘खैरो सूची’ मा समेत परेको थियो । तर, उड्डयन क्षेत्रको सुरक्षामा सुधार गरेको भन्दै सन् २०१८ मा यो सूचीबाट हटाएको थियो ।

उक्त सूचीबाट हटेपछि ईयूको कालो सूचीबाट हटाउन समेत पटक पटक प्रयास गरे पनि अहिलेसम्म ईयूले नेपाललाई यही सूचीमा कायम राखेको छ ।

ईयूको कालोसूचीमा पर्दा नेपाली वायुसेवा कम्पनीहरु युरोपेली मुलुकमा उडान भर्न पाइरहेका छैनन् । युरोपेली विमान भने नेपालमा आउन यो सूचीले रोकेको छैन ।

नेपाली पक्षको असन्तुष्टि

यो वर्ष पनि कालो सूचीबाट नहटाउनुमा नेपाली पक्षकै पर्याप्त प्रयास नपुगेको विज्ञहरूले बताएका छन् ।

कालो सूचीका कारण खासगरी युरोपमा उडाउने लक्ष्यका साथ दुईवटा वाइडवडी अर्थात ठूला आकारका विमान भित्र्याएको नेपाल वायुसेवा निगमलाई युरोप मात्र नभई अस्ट्रेलियासमेत समेत उडान गर्न असम्भव भइरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले भने ईयूको निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाली विमान कम्पनीलाई विगत ११ वर्षदेखि कालो सूचीमा राख्दै आएको युरोपेली संघ ईयूले उक्त सूचीबाट यो वर्ष पनि नहटाउनुमा दुई कारणलाई मुख्य मानेको बताइएको छ ।

दुर्घटना र सुरक्षा सुधार मुख्य मुद्दा

ईयूले नेपाललाई कालोसूचीमा राखिराख्नुको मुख्य कारण विमान दुर्घटनाहरू र सुरक्षा सुधारमा कमी भएको उल्लेख गरेको छ ।

यस वर्ष पनि साना र ठूला विमान दुर्घटनाहरू भएका कारण नेपालको उड्डयन क्षेत्र अझै जोखिमयुक्त रहेको ईयूको निष्कर्ष छ ।

तर, प्राधिकरणका अधिकारीहरू यो तर्कप्रति असन्तुष्ट छन् । “हामीले धेरै सुधार गरेका छौं। ईयूले हामीलाई कालोसूचीमै राख्नु अन्यायपूर्ण छ,” एक अधिकारीले भने ।

अन्य देशको अवस्था

ईयूले यसपटक पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई कालोसूचीबाट हटाएको छ भने तान्जिनियाको एयर तान्जानियालाई सूचीमा थपेको छ ।

यस्तै, रसियाका २२ एयरलाइन्स, इरानका दुई, उत्तर कोरियाको एयर कोरियो, अफगानिस्तान, अर्मेनिया, जिम्बाब्वेलगायतका देशहरूका एयरलाइन्स पनि यो सूचीमा रहेका छन् ।